सबै समुदायको सुरक्षा नै नेपालको सुरक्षा हो।
मलाई माफ गरिदिनुहोला… I’m sorry
न म कुनै नेता हुँ, न कुनै विद्वान्, न कुनै सूफी सन्त। मसँग तपाईंहरूलाई देखाउने कुनै ठूलो राजनीतिक मार्ग वा चमत्कारी समाधान छैन। तर एउटा कुरा भने मैले जीवनमा नजिकबाट अनुभव गरेको छु—मानिसलाई मानिससँग जोड्ने सबैभन्दा ठूलो शक्ति धर्म, जात वा राजनीति होइन, मानवता हो। मानवता, जुन आत्माको आहार हो, आज हातबाट बालुवाका कणहरूजस्तै फिस्लिँदै गइरहेको छ। घृणाको आँधीले सपनाका घरहरूलाई तिन्का–तिन्कामा छरपस्ट पारिरहेको छ। समाजमा अविश्वास बढ्दै गएको छ र मानिसहरू एक–अर्कालाई आफ्नै पहिचानका आधारमा हेर्न थालेका छन्। यस्तो समयमा प्रश्न उठ्छ—हामीले आफ्नो मानवता कहाँ छोड्यौँ? न म कसैको विरोधमा छु, न कसैको पक्षमा। मैले आफ्नो जीवनमा साथी, छिमेकी र वरपरका मानिसहरूबाट सहयोग पाएको छु र सकेसम्म अरूलाई सहयोग गर्ने प्रयास गरेको छु। मेरो समुदायलाई कठिन समयमा सहयोग गर्नेहरूमध्ये हिन्दू दाजुभाइहरूको भूमिका पनि मैले नजिकबाट अनुभव गरेको छु। त्यसले मलाई एउटा सरल सत्य सिकाएको छ—दुःखमा मानिसको धर्म सोधिँदैन। जब कसैको आँखामा आँसु आउँछ, त्यो आँसुको कुनै धर्म हुँदैन।
पीडाको कुनै जात हुँदैन। भोकको कुनै समुदाय हुँदैन। विपत्तिको समयमा हात समात्ने मानिस हिन्दू, मुसलमान, बौद्ध, ईसाई वा किराँत जे भए पनि, त्यो क्षणमा ऊ सबैभन्दा पहिले मानिस हुन्छ। सायद यही मानवताको अदृश्य सम्बन्धले हामीलाई एक–अर्काको दुःख महसुस गर्न सिकाउँछ। समस्या स्रोतको होइन, हाम्रो सोचको हो अल्लाहले, ईश्वरले यो संसारलाई विशाल र सम्पन्न बनाउनुभएको छ। धरतीमा पानी छ, माटो छ, अन्न उत्पादन गर्ने क्षमता छ र असंख्य जीवका लागि प्रकृतिले आफ्नो व्यवस्था गरेको छ। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि मानिस भोकै सुत्छ। कतै खाना फालिन्छ, कतै त्यही खानाको खोजीमा मानिसहरू फोहोरदानी खोलिरहेका हुन्छन्। यसले एउटा गम्भीर प्रश्न जन्माउँछ—समस्या साँच्चै स्रोतको कमी हो कि हाम्रो लोभको? महात्मा गान्धीसँग जोडिएको प्रसिद्ध भनाइ छ—“The world has enough for everyone's need, but not for everyone's greed.” यसको भाव सरल छ—
संसारमा सबैको आवश्यकता पूरा गर्न पर्याप्त छ, तर सबैको लोभ पूरा गर्न पर्याप्त छैन। हामीले आवश्यकता र लोभबीचको फरक बिर्सँदै गएका छौँ। आफ्नो भागभन्दा बढी प्राप्त गर्ने दौडले मानिसलाई मानिसकै प्रतिस्पर्धी बनाएको छ। धन, शक्ति र प्रभुत्वको यो दौडमा हामीले सहकार्यभन्दा नियन्त्रणलाई ठूलो ठान्न थालेका छौँ। हामीसँग सबैलाई अटाउने धरती छ, तर सबैलाई अटाउने हृदय भने साँघुरिँदै गएको छ। धर्म मानिसको आस्था हो। त्यसले मानिसलाई सत्य, संयम, करुणा, सेवा र नैतिकताको बाटो देखाउन सक्छ। तर जब धर्मलाई घृणा, राजनीतिक स्वार्थ वा प्रभुत्वको साधन बनाइन्छ, त्यही आस्था विभाजनको कारण बन्न सक्छ। मन्दिरमा पूजा गर्दा होस् वा मस्जिदमा नमाज पढ्दा, गुम्बामा प्रार्थना गर्दा होस् वा चर्चमा प्रार्थना गर्दा—हाम्रो धार्मिक यात्राको अन्तिम उद्देश्य मानिसप्रतिको जिम्मेवारी र नैतिकता बन्नुपर्छ। क़ुरआनले मानिसको बाहिरी स्वरूपभन्दा उसको हृदय र नियतको महत्त्व सम्झाउँछ। भगवद्गीताले कर्तव्य, आत्मसंयम र धर्मको बाटोबारे विचार गर्न प्रेरित गर्छ। बाइबलले प्रेम, दया र करुणालाई महत्त्व दिन्छ। गुरु ग्रन्थ साहिबले समानता र मानव भाइचाराको भावना बोकेको छ। विभिन्न परम्पराका यी शिक्षाबीच धेरै भिन्नता भए पनि एउटा साझा धागो देखिन्छ—मानिसलाई राम्रो मानिस बनाउने प्रयास। त्यसैले धर्मको नाममा एक–अर्कालाई हराउने होइन, आफ्नै कमजोरीमाथि विजय प्राप्त गर्ने प्रयास गरौँ। नयाँ पुस्ताप्रतिको हाम्रो जिम्मेवारी आजका बालबालिका र युवाले हाम्रो व्यवहारबाट सिकिरहेका छन्। हामी उनीहरूलाई के दिइरहेका छौँ—माया कि घृणा? प्रश्न गर्ने साहस कि अन्धो अनुकरण? सहिष्णुता कि बदला? इन्टरनेट र सामाजिक सञ्जालले संसारलाई नजिक ल्याउने ठूलो अवसर दिएका छन्। तर यही माध्यमबाट झूट, घृणा र उत्तेजना पनि केही क्षणमै हजारौँ मानिससम्म पुग्छ। एउटा गलत सूचना फैलिन केही सेकेन्ड पर्याप्त हुन्छ, तर त्यसले सिर्जना गरेको अविश्वास हटाउन वर्षौँ लाग्न सक्छ।

त्यसैले हामीले घृणा, झूट र दुष्टताको अन्धो प्रचारको शिकार हुनबाट आफूलाई जोगाउनुपर्छ। इन्टरनेटको प्रयोग घृणा फैलाउन होइन, प्रेम, सद्भाव र मानवताको सन्देश फैलाउन गरौँ। भक्ति, सूफी विचार, भगवद्गीता र क़ुरआनका मानवता, करुणा, प्रेम र शान्तिका उत्कृष्ट शिक्षाहरू हाम्रा भावी पुस्तासम्म पुर्याऔँ। किनकि हामीले आज के सिकाउँछौँ, भोलिको पुस्ताले त्यही समाज निर्माण गर्नेछ। ती सबै कुरा कहाँ हराए? समानता, भ्रातृत्व र विश्वव्यापी भाइचाराका ती भाषणहरू कहाँ गए, जुन हामीले लोकतन्त्र स्थापना गर्ने बेला ठूलो गर्वका साथ बोलेका थियौँ? यदि मेरो आवाज आज पनि तपाईंहरूको हृदयसम्म पुगिरहेको छ भने, आउनुहोस्, म तपाईंहरूलाई एउटा कुरा भनौँ—साँचो हिन्दू कसरी बन्ने र साँचो मुसलमान कसरी बन्ने। आउनुहोस्, म तपाईंहरूलाई भगवद्गीताको ज्ञान र गुरु नानकद्वारा प्रदान गरिएको गुरु ग्रन्थ साहिबको मानवताको सन्देश सुनाऊँ। आउनुहोस्, म तपाईंहरूलाई हजको यात्रामा पठाऊँ—जहाँ मानिसले धर्मभन्दा माथि उठेर मानवता, समानता र भाइचाराको अर्थ बुझ्छ। तपाईंहरूले गर्नुपर्ने कुरा केवल यति हो—आफ्नो हृदयलाई, जो परमेश्वरको साँचो घर हो, आपसी घृणाले टुक्रिन नदिनुहोस्। आज धेरै मानिसहरू आशा गुमाएर निराश भएका छन्।
उनीहरू त्यस्तो सोच र व्यवस्थाको शिकार भएका छन्, वा शिकार बन्ने अवस्थामा छन्, जसले मानिसलाई निर्दोष मानिसहरूमाथि अत्याचार र पीडा दिन सिकाउँछ। त्यसैले हामीले घृणाको बाटो होइन, प्रेम, करुणा, शान्ति र मानवताको बाटो रोज्नुपर्छ। यदि मेरो आवाज घृणा फैलाउने र मानिसहरूलाई आपसमा लडाउने भारतका एजेन्टहरूका कानसम्म पुगिरहेको छ भने, ध्यान दिएर सुन्—यी निर्दोष र गरिब मानिसहरूलाई आपसमा लडाएर तपाईंहरूले केही पनि हासिल गर्न सक्नुहुन्न। हाम्रो बीचको भाइचारा र एकताको सम्बन्धलाई तपाईंहरूले कहिल्यै तोड्न सक्नुहुन्न। हाम्रो नेपालमा घृणा र विभाजन फैलाउने तपाईंहरूका नापाक प्रयास कहिल्यै सफल हुने छैनन्। किनकि यहाँ अझै पनि मानवता जीवित छ। हामी अन्याय र झूटका अगाडि चुप लागेर बस्ने छैनौँ। हामीलाई घृणा र झूटको साम्राज्य कहिल्यै स्वीकार्य हुने छैन। हाम्रा प्राचीन ज्ञानका महान् ग्रन्थमध्ये मुण्डक उपनिषद्ले भन्छ— सत्यमेव जयते: अन्ततः सत्यकै विजय हुन्छ र पवित्र क़ुरआनले भन्छ— जा–अल् हक्कु व ज़हक़ल् बातिलु, इन्नल् बातिला कान ज़हूक़ा “सत्य आयो र असत्य मेटियो; निश्चय नै असत्य मेटिनकै लागि थियो।” एक दिन यी सबै घृणाहरू अन्त्य हुनेछन्। तानाशाहहरू रहने छैनन्। नेपाल कुनै एउटै धर्म, जात वा समुदायको मात्र देश होइन। यो अनेकौँ धर्म, भाषा, जाति, संस्कृति र परम्पराले बनेको साझा घर हो। यहाँ हिन्दू छन्, मुसलमान छन्, बौद्ध छन्, ईसाई छन्, किराँत छन् र विभिन्न आस्था तथा परम्परा मान्ने अन्य समुदायहरू पनि छन्। त्यसैले नेपालको सुरक्षा भनेको केवल आफ्नो समुदायको सुरक्षा होइन। सबै समुदायको सुरक्षा नै नेपालको सुरक्षा हो। कुनै हिन्दूको मन्दिरमा आक्रमण हुँदा मुसलमानले त्यसलाई आफ्नो सरोकारको विषय ठान्नुपर्छ। कुनै मुसलमानको मस्जिदमाथि आक्रमण हुँदा हिन्दू चुप बस्नु हुँदैन।
कुनै गुम्बा, चर्च वा अन्य धार्मिक स्थलमाथि आक्रमण हुँदा पनि हाम्रो आवाज एउटै हुनुपर्छ—आस्था फरक हुन सक्छ, तर हिंसा स्वीकार्य छैन। धार्मिक स्थल केवल इँटा, ढुङ्गा र पर्खालले बनेको भवन होइन। त्यहाँ मानिसहरूको विश्वास, इतिहास, भावना र आत्मसम्मान जोडिएको हुन्छ। त्यसैले धार्मिक स्वतन्त्रताको रक्षा गर्नु राज्यको मात्र जिम्मेवारी होइन, समाजका हरेक नागरिकको नैतिक जिम्मेवारी पनि हो। हामी यस्तो नेपाल बनाऔँ जहाँ हरेक नागरिकले भन्न सकोस्— “मेरो धर्म सुरक्षित छ, किनकि मेरो छिमेकीको धर्म पनि सुरक्षित छ।” हामी धर्म र पहिचानका विषयमा बहस गरिरहेका बेला समाजको अर्को यथार्थ नबिर्सौँ—भोक।
सडकमा प्लास्टिक टिपेर जीवन गुजारिरहेका मानिसका लागि हिन्दू र मुसलमानबीचको विवादभन्दा पेटको प्रश्न ठूलो हुन्छ। फोहोरदानीमा खाना खोज्ने मानिसका लागि राजनीति र धार्मिक नारा होइन, एक छाक भोजन नै जीवनको तत्कालीन आवश्यकता हुन्छ। यदि हाम्रो समाजमा कोही मानिस भोकै सुतिरहेको छ भने हाम्रो विकासमाथि प्रश्न उठ्छ। यदि कुनै बालक शिक्षाबाट वञ्चित छ भने हाम्रो भविष्य अधुरो छ। यदि कुनै परिवार उपचारको अभावमा पीडित छ भने हाम्रो समृद्धिको दाबी अपूर्ण छ।
मानवताको वास्तविक परीक्षा यहीँ हुन्छ—हामी कमजोर मानिसका लागि के गर्छौँ? हामीले एक–अर्कालाई हराएर होइन, एक–अर्कालाई उठाएर समाज निर्माण गर्नुपर्छ। इतिहासले एउटा कुरा बारम्बार देखाएको छ—शक्ति स्थायी हुँदैन। अत्याचार स्थायी हुँदैन। तानाशाही स्थायी हुँदैन। तर सत्यको खोज, न्यायको चाहना र स्वतन्त्रताको आकांक्षा बारम्बार नयाँ रूपमा जन्मिन्छ। फिरऔनदेखि रावणसम्म र कंसदेखि आधुनिक समयका विभिन्न अत्याचारी संरचनासम्म, इतिहासले हामीलाई एउटै पाठ सिकाउँछ—अहंकार र दमनको अन्त्य हुन्छ। सत्यलाई दबाउन सकिन्छ, तर सधैँका लागि समाप्त गर्न सकिँदैन।
स्वतन्त्रता र विवेक त्यसैले नागरिकले प्रश्न गर्न पाउनुपर्छ। असहमति व्यक्त गर्न पाउनुपर्छ। आफ्नो धर्म मान्न पाउनुपर्छ। अर्को धर्मको सम्मान गर्न पाउनुपर्छ। आफ्नो विचार राख्न पाउनुपर्छ, तर अरूको अधिकार खोस्ने अधिकार कसैलाई हुँदैन। स्वतन्त्रताको अर्थ आफूले चाहेको कुरा मात्र बोल्नु होइन; अरूलाई पनि आफ्नो कुरा भन्न दिने साहस हो। आज मानिसलाई डर देखाएर, लोभ देखाएर वा भीडको भावनालाई उचालेर प्रभावित गर्न सजिलो भएको छ। हामीलाई के खाने, के लगाउने, के सोच्ने र कसलाई घृणा गर्ने भन्ने कुरा सिकाउने प्रयासहरू विभिन्न माध्यमबाट भइरहेका छन्। तर हामीले एउटा कुरा सम्झनुपर्छ—हामी केवल भीड होइनौँ। हामी सोच्न सक्ने मानिस हौँ। हामी प्रश्न गर्न सक्छौँ। हामी असहमति जनाउन सक्छौँ। हामी गलतलाई गलत भन्न सक्छौँ। हामी आफ्नो विवेक प्रयोग गर्न सक्छौँ। हाम्रो वास्तविक शक्ति धनमा मात्र छैन, पदमा मात्र छैन र भीडको संख्यामा पनि छैन। हाम्रो सबैभन्दा ठूलो शक्ति हाम्रो विवेक, करुणा र मानवता हो। जब हृदयमा मानवताको धड्कन बाँकी रहन्छ, तब घृणाले पूर्ण विजय प्राप्त गर्न सक्दैन। अब हामीले रोज्नुपर्ने बाटो स्पष्ट छ।
हामी धर्मको नाममा घृणा फैलाउने छैनौँ। जात र समुदायका आधारमा मानिसलाई तुच्छ ठान्ने छैनौँ। झूटो सूचनाको पछि लागेर कसैलाई शत्रु बनाउने छैनौँ। निर्दोष मानिसलाई उसको पहिचानका कारण दोषी ठहराउने छैनौँ। हामी मन्दिरको सम्मान गर्नेछौँ, मस्जिदको सम्मान गर्नेछौँ, गुम्बाको सम्मान गर्नेछौँ, चर्चको सम्मान गर्नेछौँ र हरेक नागरिकको आस्था तथा संस्कृतिको सम्मान गर्नेछौँ। हामी आफ्ना अधिकारका लागि उभिनेछौँ, तर अरूको अधिकार पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरा बिर्सने छैनौँ। हामी सत्यको पक्षमा उभिनेछौँ। न्यायको पक्षमा उभिनेछौँ। मानवताको पक्षमा उभिनेछौँ। स्वतन्त्रताको पक्षमा उभिनेछौँ। किनकि हामीले एक–अर्कालाई जित्नु आवश्यक छैन। हामीले एक–अर्कालाई बुझ्नु आवश्यक छ। हामीले एक–अर्काको धर्म बदल्नु आवश्यक छैन। हामीले एक–अर्काको हृदय बुझ्नु आवश्यक छ। हामीले एक–अर्कामाथि शासन गर्नु आवश्यक छैन। हामीले एक–अर्काको सम्मान गर्नु आवश्यक छ। घृणाको भाषा सिक्न सजिलो छ। प्रेमको भाषा सिक्न समय लाग्छ। भीडलाई उत्तेजित गर्न सजिलो छ। समाजलाई जोड्न कठिन छ। झूट फैलाउन केही सेकेन्ड लाग्छ। सत्य स्थापित गर्न वर्षौँ लाग्न सक्छ। तर कठिन बाटो नै गलत बाटो हुँदैन। आज हामीले आफ्ना आउने पुस्तालाई एउटा यस्तो समाज दिनुपर्छ जहाँ उनीहरूले आफ्नो धर्म मान्दा डराउनु नपरोस्, आफ्नो विचार राख्दा डराउनु नपरोस् र आफ्नै छिमेकीको पहिचानका कारण उसलाई शत्रु ठान्नु नपरोस्।
यस्तो नेपाल बनाऔँ जहाँ हिन्दू सुरक्षित हुँदा मुसलमानले पनि आफू सुरक्षित महसुस गरोस्, मुसलमान सुरक्षित हुँदा हिन्दूले पनि आफू सुरक्षित महसुस गरोस्, बौद्ध, ईसाई, किराँत र अन्य सबै समुदायले पनि यो देशलाई आफ्नै साझा घर ठान्न सकून्। मन्दिर बचाऔँ। मस्जिद बचाऔँ। गुम्बा बचाऔँ। चर्च बचाऔँ। हरेक नागरिकको आस्था र सम्मान बचाऔँ। तर यी सबैभन्दा माथि— मानवता बचाऔँ। घृणाको अन्धकारभन्दा मानवताको उज्यालो ठूलो होस्। झूटभन्दा सत्य बलियो होस्। डरभन्दा स्वतन्त्रता ठूलो होस्। विभाजनभन्दा भाइचारा बलियो होस्। किनकि अन्ततः हाम्रो सबैभन्दा ठूलो परिचय कुनै धर्म, जात वा राजनीतिक विचार होइन
हामी मानिस हौँ। र हाम्रो साझा परिचय अझ स्पष्ट छ— हामी नेपाली हौँ।
🖋️ अस्लम ख़ान इब्ने यूनुस — दोहा- क़तर
