Sep 21, 2026 09:47 AM Asia/Kathmandu
हामीलाई फलो गर्नुहोस्:
राहत सामग्रीभन्दा नगद आर्थिक सहयोग संकलन गर्नु अझ प्रभावकारी हुने विषयमा

राहत सामग्रीभन्दा नगद आर्थिक सहयोग संकलन गर्नु अझ प्रभावकारी हुने विषयमा

01 Sep 2026
1 min read

नेपाल देशको हालसालैको प्राकृतिक विपद्को अवस्थालाई ध्यानमा राख्दै, हिजो अर्थात् २०८३ साल भदौ १४ गते (३०.०८.२०२६), आइतबार, हामी ७ जनाको टोलीले सर्लाही जिल्लाका विभिन्न स्थानहरूको भ्रमण गर्‍यौँ। 

अल्हम्दुलिल्लाह, बिहान ९ बजेदेखि राति १०:३० बजेसम्म हामी जिल्लाका १८ वटा बस्तीमा पुगेर मुस्लिम समुदायका जिम्मेवार व्यक्तिहरू, उलेमा, इमाम तथा युवाहरूसँग भेटघाट गर्‍यौँ। सबैभन्दा खुशीको कुरा के देखियो भने, हरेक ठाउँमा स्थानीय दाजुभाइहरूले यस विपद्को घडीमा मानवीय पीडा र दुःखलाई महसुस गर्दै सकेसम्म सहयोग गर्न उत्सुकता देखाउनुभएको थियो। 

धेरै स्थानमा स्थानीय स्तरमै आर्थिक सहयोगसमेत संकलन भइरहेको थियो। हाम्रो टोलीको उपस्थितिले त्यस कार्यमा थप उत्साह र प्रेरणा मिलेको महसुस भयो। यस सम्बन्धमा हाम्रो भ्रमणका मुख्य दुई उद्देश्य थिए:

 पहिलो उद्देश्य:

 स्थानीय स्तरमा सहयोग संकलन गरिरहेका दाजुभाइहरूलाई यो जानकारी गराउनु थियो कि यदि राहत सामग्री (गैर-नगद सहयोग) संकलन गर्ने हो भने, स्थानीय समुदाय स्वयं प्रभावित क्षेत्रमा पुगेर आफ्नै मदरसा, बस्ती वा संस्थाको नाममा राहत वितरण गर्न सक्ने अवस्था भएमा मात्र सामग्री संकलन गर्नु उपयुक्त हुन्छ। यदि स्थानीय रूपमा प्रभावित क्षेत्रमा पुगेर वितरण गर्न सम्भव छैन भने, संकलित राहत सामग्री कुनै राजनीतिक नेता, नगरपालिका वा अन्य गैर-मुस्लिम संस्थामार्फत पठाउनु उचित नहुने हाम्रो धारणा हो। 

यसो गर्दा मुस्लिम समुदायले गरेको मेहनत र सहयोगको श्रेय सामाजिक सञ्जालमार्फत अन्य व्यक्तिहरू वा संस्थाहरूले लिन सक्ने सम्भावना रहन्छ। साथै, राहत सामग्रीको पारदर्शिता र सही सदुपयोगबारे प्रश्न उठ्ने तथा दुरुपयोग हुने जोखिमसमेत रहन सक्छ।

 दोस्रो र महत्वपूर्ण उद्देश्य:

 राहत सामग्रीभन्दा नगद आर्थिक सहयोग संकलन गर्नु अझ प्रभावकारी हुने विषयमा समुदायलाई जानकारी गराउनु थियो। स्थानीय रूपमा संकलन गरिएको नगद रकम आफ्ना मदरसा वा सम्बन्धित संस्थाको बैंक खातामा जम्मा गरी, त्यसपछि बैंकिङ प्रणालीमार्फत प्रधानमन्त्री राहत कोषमा पठाउने व्यवस्था गर्न सकिन्छ। रकम पठाएपछि प्राप्त हुने रसिद/प्रमाण सुरक्षित राखेर मदरसाको अभिलेखमा राख्नुपर्छ। यसबाट एउटा महत्वपूर्ण सकारात्मक सन्देश जानेछ—प्रधानमन्त्री राहत कोषको बैंकिङ अभिलेखमा मुस्लिम समुदाय, मदरसा तथा संस्थाहरूको सहभागिता आधिकारिक रूपमा देखिनेछ। यसले नेपालका मुस्लिम समुदाय, मदरसा र मस्जिदहरू देशमा आइपरेको विपद्को समयमा राष्ट्र र मानवताको पक्षमा जिम्मेवारीपूर्वक उभिएका छन् भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्नेछ। 

यसले नेपालका मुस्लिम समुदायप्रति गलत धारणा राख्नेहरूलाई पनि हाम्रो समुदाय राष्ट्र, समाज र मानवताको सेवामा सधैँ अग्रपंक्तिमा रहेको प्रमाणित गर्नेछ। हाम्रो टोलीले राखेको यो नगद आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाउने प्रस्तावलाई विभिन्न स्थानका जिम्मेवार व्यक्तिहरूले निकै सकारात्मक रूपमा लिनुभएको छ। यही विषय हाम्रो प्रतिनिधिमण्डलको पनि प्रमुख प्राथमिकता रहेको थियो।

 अन्त्यमा, यस समूहसँग जोडिनुभएका सम्पूर्ण सदस्यहरूलाई विनम्र अनुरोध छ कि यदि यो राहत संकलन तथा सहयोगको प्रक्रिया उपयुक्त लाग्छ भने, यसलाई व्यापक रूपमा प्रचार–प्रसार गर्नुहोस् र यस अभियानमा सक्रिय आफ्ना स्थानीय जिम्मेवार व्यक्तिहरू, उलेमा, इमाम, मदरसा तथा समुदायका अगुवाहरूलाई समेत यसबारे जानकारी गराउनुहोस्।

 विपद्को यस कठिन घडीमा हामी सबै मिलेर मानवता, समाज र राष्ट्रको सेवामा एकजुट भएर अगाडि बढौँ।

 धन्यवाद। मुहम्मद नसीम नुरानी मलंगवा, सर्लाही

Abdul Jabbar Alimi

अब्दुल जब्बार अलीमी निजामी नेपाली

प्रमुख सम्पादक नेपाल उर्दू टाइम्स, मिडिया इन्चार्ज उलेमा काउन्सिल नेपाल