Sep 21, 2026 09:00 AM Asia/Kathmandu
हामीलाई फलो गर्नुहोस्:
पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधिमण्डलद्वारा नेपाली दूतावासको भ्रमण

पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधिमण्डलद्वारा नेपाली दूतावासको भ्रमण

06 Sep 2026
1 min read

बाढीको विनाशप्रति ऐक्यबद्धता जनाउन पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधिमण्डलद्वारा नेपाली दूतावासको भ्रमण

 नेपाल उर्दू टाइम्स

 पाकिस्तानका राष्ट्रपतिको निर्देशनमा पाकिस्तान सिनेटका पूर्व अध्यक्ष सय्यद नय्यर बुखारी तथा राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलांगीले इस्लामाबादस्थित नेपाली दूतावासको भ्रमण गरी नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेका छन्। गत हप्ता चीन–नेपाल सीमावर्ती क्षेत्रमा पहिरो र हिमनदी (ग्लेसियर) फुटेपछि आएको भीषण बाढीले व्यापक विनाश निम्त्याएको थियो।

 उक्त प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानका राष्ट्रपति तथा पाकिस्तानी जनताको तर्फबाट नेपाली जनता र नेपाल सरकारप्रति गहिरो दुःख तथा सहानुभूति व्यक्त गरिएको थियो। पाकिस्तानका लागि नेपालकी राजदूत रिता धितालले पाकिस्तानी प्रतिनिधिमण्डललाई नेपाली दूतावासमा स्वागत गर्दै यस कठिन घडीमा नेपालप्रति पाकिस्तान सरकार र पाकिस्तानी जनताले देखाएको ऐक्यबद्धता, सद्भाव तथा सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

भ्रमणका क्रममा पूर्व सिनेट अध्यक्ष सय्यद नय्यर बुखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलांगीले दूतावासको भिजिटर्स बुकमा समेत समवेदना तथा ऐक्यबद्धताका सन्देश लेख्दै बाढी प्रभावित नेपाली जनताप्रति गहिरो सहानुभूति व्यक्त गरेका थिए। 

यस अवसरले प्राकृतिक विपत्तिको कठिन घडीमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध, मानवीय संवेदना तथा आपसी ऐक्यबद्धतालाई थप मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ।

Abdul Jabbar Alimi

अब्दुल जब्बार अलीमी निजामी नेपाली

प्रमुख सम्पादक नेपाल उर्दू टाइम्स, मिडिया इन्चार्ज उलेमा काउन्सिल नेपाल