Sep 21, 2026 09:01 AM Asia/Kathmandu
हामीलाई फलो गर्नुहोस्:
*बाढी र नेपालका मुस्लिमहरूको भ्रातृत्वको भावना*

*बाढी र नेपालका मुस्लिमहरूको भ्रातृत्वको भावना*

07 Sep 2026
1 min read

*बाढी र नेपालका मुस्लिमहरूको भ्रातृत्वको भावना*

*_लेखक: मुहम्मद इमरान नदवी_* 

_अनुवादिका: आमना अनीस अंसारी_

प्राकृतिक विपत्तिहरू आउँदा तिनले केवल घरहरू भत्काउँदैनन्, धेरै सपनाहरूलाई पनि आफूसँगै बगाएर लैजान्छन्। सुखी र समृद्ध बस्तीहरूमा अचानक भय छाउँछ, व्यवस्थित परिवारहरू अभाव र असहाय अवस्थाको सामना गर्न बाध्य हुन्छन् र जीवनको सामान्य गति एकै क्षणमा रोकिएजस्तो हुन्छ। नेपालका रसुवा, नुवाकोट तथा अन्य क्षेत्रमा आएको हालैको बाढीले पनि यस्तै पीडादायी अवस्था सिर्जना गरेको छ, जसले असंख्य परिवारहरूलाई परीक्षा, अनिश्चितता र कठिनाइको बीचमा पुर्‍याएको छ। कतै घरहरू प्रभावित भएका छन्, कतै आवश्यक सामानहरू बगेका छन् भने कतै मानिसहरूलाई आफ्नो जीवन पुनः व्यवस्थित गर्न कठिन यात्रा सुरु गर्नुपरेको छ। तर यस अँध्यारो परिस्थितिमा एउटा यस्तो उज्यालो दृश्य पनि देखापर्‍यो, जसले मनहरूमा आशा जगायो, नेपालका मुस्लिमहरूको भ्रातृत्व, सहानुभूति र त्यागको भावना।

 बाढीको पानी बस्तीहरूमा विनाशको कथा लेखिरहेको थियो, तर त्यही समयमा मुस्लिमहरूको हृदयमा प्रेम र सहानुभूतिका दीपहरू पनि प्रज्वलित भइरहेका थिए। देशका विभिन्न क्षेत्रबाट मानिसहरूले प्रभावितहरूको अवस्था बुझ्ने प्रयास गरे, उनीहरूका लागि सहयोग रकम संकलन गरे, आवश्यक सामग्रीहरू पुर्‍याए र आफ्नो क्षमताअनुसार उनीहरूको दुःखमा सहभागी हुने प्रयास गरे। कसैले धन दिए, कसैले सामग्री दिए, कसैले आफ्नो समय र श्रम समर्पित गरे भने कसैले अरूलाई सहयोग गर्न प्रेरित गरे। हातहरू फरक थिए, साधनहरू फरक थिए, तर उद्देश्य एउटै थियो, विपत्तिमा परेका मानिसलाई एक्लो नछोड्नु। यही त हो भ्रातृत्व, कसैको आँखामा आँसु आउँदा अर्को हृदय पनि व्याकुल हुनु; कसैको घरको दीप निभ्दा धेरै हातहरू त्यसलाई फेरि उज्यालो बनाउन उठ्नु। यस सम्पूर्ण परिस्थितिमा मस्जिद र मदरसाहरूको भूमिका विशेष रूपमा प्रशंसनीय रह्यो। मस्जिदहरू केवल इबादत गर्ने स्थान मात्र रहेनन्, बरु पीडित हृदयहरूलाई जोड्ने केन्द्र बने; मदरसाहरूले शिक्षा–दीक्षासँगै मानवसेवाको व्यावहारिक पाठ पनि प्रस्तुत गरे। इमाम, उलमा, विद्यार्थी तथा आम मुस्लिमहरूले आआफ्नो क्षमताअनुसार प्रभावितहरूका लागि सहयोग गरे।

 कुनै विद्यार्थीले आफ्नो सानो बचतसमेत दिए, कसैले आफ्नो क्षमताअनुसार योगदान गरे, कुनै उदार व्यक्तिले ठूलो जिम्मेवारी वहन गरे भने कसैले केवल एउटा आवाज उठाए, “आउनुहोस्! आफ्ना विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूसँग उभिऔँ।” हेर्दा यी प्रयासहरू साना–साना देखिन्थे, तर जब इमानदारी र निष्कपटताका साथ उठेका हातहरू एउटै उद्देश्यका लागि एकजुट हुन्छन्, तब साना–साना थोपा पनि एउटा बलियो नदी बन्न सक्छन्। वास्तवमा कुनै समुदायको वास्तविक शक्ति उसको साधन, भवन र समृद्धिबाट होइन, बरु विपत्तिको समयमा उसका हृदयहरूको धड्कनबाट मापन हुन्छ। खुसीमा सहभागी हुनु सजिलो हुन्छ, तर कसैको दुःखलाई आफ्नो दुःख सम्झनु, कसैको क्षतिलाई महसुस गर्नु र कुनै पीडित परिवारका लागि आफ्नो सुख, सुविधामा कमी ल्याउनु जीवित अन्तःकरणको चिनारी हो। रसुवा र नुवाकोटका प्रभावितहरूका लागि भएको सहयोग यही जीवित संवेदनशीलताको प्रतीक हो।

 यसले यो सन्देश दिएको छ कि नेपालका मुस्लिमहरू एक-अर्काको दुःखबाट अनभिज्ञ छैनन्; उनीहरूको हृदयमा पीडा छ, हातमा सहयोग छ र आवश्यक परेको समयमा एक–अर्काका लागि उभिने साहस पनि छ। यो सहयोग केवल केही रुपैयाँ, केही बोरा वा केही राहत सामग्रीको नाम होइन। यसको पछाडि एउटा महान् सत्य लुकेको छ, सामुदायिक चेतना, सामूहिक जिम्मेवारी र मानवताको भावना। किनकि समाज केवल त्यस्ता मानिसहरूबाट बन्दैन, जो एक–अर्कासँग खुसी बाँड्छन्; समाज त त्यस्ता मानिसहरूबाट पनि बन्छ, जो कठिन घडीमा एक–अर्काको हात समात्छन्।

 यदि कुनै परिवारको घर प्रभावित हुन्छ भने त्यसको पीडा केवल त्यस घरको चार पर्खालभित्र सीमित रहनु हुँदैन। यदि कुनै बालबालिकाको शिक्षा प्रभावित हुन्छ भने समाजका अन्य व्यक्तिहरूले पनि उसको भविष्यको चिन्ता गर्नुपर्छ। यही भावनाले व्यक्तिहरूलाई जोड्छ र छरिएको समाजलाई पारस्परिक सम्बन्ध भएको समुदायमा रूपान्तरण गर्छ। तर हामीले यो पनि बुझ्नुपर्छ कि बाढीको पानी घट्दैमा विपत्ति समाप्त हुँदैन। पानी घट्छ, तर धेरै घरहरूमा खालीपन बाँकी रहन्छ; बाटोहरू खुल्छन्, तर रोजगारीका ढोकाहरू तुरुन्तै खुल्दैनन्; जीवन सामान्य अवस्थामा फर्किएको जस्तो देखिन्छ, तर प्रभावित परिवारहरूका लागि नयाँ जीवन सुरु गर्नु सहज हुँदैन। क्षतिग्रस्त घरहरूको पुनर्निर्माण, रोजगारीको पुनःस्थापना, दैनिक आवश्यकताका सामग्रीहरूको व्यवस्था तथा बालबालिकाको शिक्षाजस्ता समस्याहरू लामो समयसम्म रहन सक्छन्। त्यसैले आकस्मिक राहतसँगै निरन्तर सहयोग, व्यवस्थित सेवा तथा दीर्घकालीन योजनाको पनि आवश्यकता छ। आज रसुवा र नुवाकोटका लागि जागृत भएको भावनालाई क्षणिक उत्साहमा सीमित नराखी यसलाई स्थायी सामूहिक परम्परामा रूपान्तरण गर्नुपर्छ। यस घटनाले हामीलाई अर्को सुन्दर पाठ पनि सिकाउँछ, सहयोग गर्न धनको धेरैपन होइन, हृदयको विशालता आवश्यक हुन्छ। कहिलेकाहीँ सानो रकम, कहिलेकाहीँ एक बोरा खाद्यान्न, कहिलेकाहीँ केही घण्टाको समय, कहिलेकाहीँ एउटा प्रार्थना र कहिलेकाहीँ केवल एउटा निष्कपट आवाज पनि कुनै पीडित मानिसका लागि आशाको किरण बन्न सक्छ। कसैको सहयोग सानो हुँदैन, यदि त्यसको पछाडि निष्कपटता, प्रेम र मानवताको भावना रहेको छ। आज रसुवा र नुवाकोट हाम्रो ध्यान र सहयोगको अपेक्षामा छन्, भोलि सम्भवतः कुनै अर्को क्षेत्रलाई हाम्रो आवश्यकता पर्न सक्छ। जीवनको चक्र सधैँ एउटै दिशामा घुम्दैन। कहिले हामी कसैको सहारा बन्छौँ भने कहिले हामीलाई नै कसैको सहाराको आवश्यकता पर्न सक्छ। त्यसैले भ्रातृत्व र पारस्परिक सहयोगलाई कुनै एउटा घटना वा निश्चित समयसम्म मात्र सीमित गर्नु हुँदैन।

 आवश्यकता यस कुराको छ कि मानवसेवालाई हाम्रो सामूहिक जीवनको स्थायी पहिचान बनाऔँ। मस्जिद, मदरसा, उलमा, युवाहरू तथा सहयोगी मन भएका व्यक्तिहरूबीच यस्तो बलियो सम्बन्ध स्थापित होस्, जसले हरेक कठिन घडीमा मानवताको सेवा गर्न सकोस्। ताकि जब कुनै बस्तीमा विपत्ति आइपरोस्, जब कुनै घरको दीप निभ्न लागोस् र जब कुनै परिवार असहाय बनोस्, तब उसले टाढाबाट आएको एउटा आवाज सुन्न सकोस्: “तिमीहरू एक्ला छैनौ, हामी तिमीहरूसँग छौँ!” रसुवा र नुवाकोटको बाढी धेरै घरपरिवारका लागि एउटा परीक्षा बनेर आयो, तर यही परीक्षाले नेपालका मुस्लिमहरूको भ्रातृत्व, त्याग र मानवप्रेमलाई इतिहासको एउटा उज्यालो अध्यायमा रूपान्तरण गरिदिएको छ। विभिन्न क्षेत्रका मुस्लिमहरूले जुन एकता, सहानुभूति र सहयोगको प्रदर्शन गरे, त्यो केवल क्षणिक राहत होइन, बरु यस्तो इतिहास रचेको उदाहरण हो, जसलाई आउने पुस्ताहरूका लागि स्वर्ण अक्षरमा लेखिनुपर्छ। यस परीक्षाले प्रमाणित गरिदिएको छ कि यदि हृदयमा पीडा जीवित छ, नियतमा निष्कपटता छ र हातहरू एक–अर्काका लागि उठ्छन् भने सीमित साधनहरू पनि ठूलो आशाको आधार बन्न सक्छन्।

 यो केवल बाढीपीडितहरूको सहयोग थिएन; यो भ्रातृत्वको झण्डा उचाल्ने, मानवताको सम्बन्धलाई बलियो बनाउने र मुस्लिमहरूको सामूहिक चेतनालाई जीवित राख्ने एउटा उज्यालो उदाहरण थियो। आउनुहोस्! यस भावनालाई केवल एउटा घटनाको सम्झनामा सीमित नराखौँ, बरु यसलाई एउटा जीवित परम्परा बनाऔँ। मतभेदभन्दा माथि उठेर, क्षेत्र र समुदायको सीमाभन्दा पर गएर, मानवताको पीडालाई आफ्नो पीडा सम्झौँ। ताकि आगामी दिनमा कुनै पनि पीडित मानिसले आफूलाई एक्लो महसुस गर्न नपरोस्। यही भ्रातृत्वको वास्तविक भावना हो, यही त्यागको सुन्दरता हो, यही मानवताको सौन्दर्य हो र यही जागरूक, बलियो तथा जीवित समाजको पहिचान हो। 

अल्लाह तआलाले रसुवा, नुवाकोट तथा अन्य प्रभावित क्षेत्रका सबै परिवारहरूको कठिनाइ सहज बनाइदिनुहोस्, उनीहरूको क्षतिको क्षतिपूर्ति गरिदिनुहोस्, घरबारविहीन भएका व्यक्तिहरूलाई पुनः आफ्नै घरको सुख–शान्ति प्रदान गरिदिनुहोस् र उनीहरूको रोजगारी तथा दैनिक जीवन पुनः सामान्य बनाइदिनुहोस्। जसले कुनै पनि रूपमा प्रभावितहरूको सहयोग गरेका छन्, उनीहरूको धन, समय, श्रम तथा निष्कपटतालाई आफ्ना दरबारमा स्वीकार गर्नुहोस्।

 अल्लाह तआलाले नेपालका मुस्लिमहरूबीच प्रेम, एकता, भ्रातृत्व, त्याग तथा मानवसेवाको यस भावनालाई सदैव जीवित राखून् र यसलाई आउने पुस्ताहरूका लागि एउटा उज्यालो उदाहरण बनाऊन्। आमीन या रब्बल आलमीन।

Abdul Jabbar Alimi

अब्दुल जब्बार अलीमी निजामी नेपाली

प्रमुख सम्पादक नेपाल उर्दू टाइम्स, मिडिया इन्चार्ज उलेमा काउन्सिल नेपाल